त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज भएको रोचक खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ ।
काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा नेपालले टस हारेर ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा १ सय ८० रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्न सफल भयो । टोलीका लागि कुशल मल्लले ५५ रन बनाउँदा आरिफ सेखले ३१ र गुल्सन झाले २६ रनको योगदान दिए । बलिङतर्फ नामिबियाका बेन सिकोङ्गोले ३ र ज्याक ब्रासेलले २ विकेट लिए ।
प्रतिउत्तरमा एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा १७७ रनमा सीमित हुनपुग्यो । नामिबियाका लागि जेजे स्मिटले ५० रन बनाउँदा जेन फ्राइलिङ्कले ३७ र जेपी कुत्जाले २५ रन बनाए । बलिङतर्फ नेपालका करन केसी, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट चट्काउन सफल भए ।
घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड सहभागी यस शृङ्खलामा नेपाललाई फाइनलको सम्भावना जीवितै राख्न आजको खेल जित्नै पर्ने आवस्यकता रहेको थियो । अब नेपालले भोलि नेदरल्यान्डसँग खेल्नेछ । नेपाल यस अघि नामिबिया र नेदरल्यान्डसँग एक-एक खेल हारेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |